Saturday, July 5, 2014

मनाङमा २३ सय बर्ष पुरानो गुफा........



मनाङमा २३ सय वर्ष पुरानो गुफा


(1 Vote)
मनाङमा २३ सय वर्ष पुरानो गुफा
काठमाडौं- मनाङमा झन्डै २३ सय वर्ष पुरानो एउटा गुफा भेटिएको छ। पुरातत्व विभाग र अमेरिकी पुरातत्वविदको संयुक्त टोलीले मनाङमा ऐतिहासिक गुफा रहेको पत्ता लगाएको हो।फु गाविसको क्याङ गुफाबाट गत वर्ष संकलित अवशेष परीक्षण गर्दा यस्तो भेटिएको पुरातत्व विभागले बिहीबार जानकारी दियो।
समुद्री सतहबाट ३ हजार ८ सय ४० मिटर उचाइमा रहेको खामपाले बस्तीको माथिल्लो भिरालो भागमा रहेको सो गुफामा अघिल्लो जेठ–असारमा गरेको अन्वेषणको नतिजा केही दिनअघि टोलीले विभागलाई दिएको थियो।
'अघिल्लो वर्षको अन्वेषणबाट आएको नतिजाले अत्यन्तै राम्रो सूचना दिएको छ,' विभागका अधिकृत तथा अनुसन्धानमा संलग्न भाष्कर ज्ञवालीले नागरिकसँग भने, 'मुस्ताङसँगैको जिल्ला भएकाले मनाङमा पनि इतिहासमा केही सम्बन्ध थियो कि थिएन भन्ने अध्ययनका लागि यस्तो अन्वेषण भएको थियो।' ८.४ मिटर लम्बाइ, १.३ मिटर चौडाइ र १.४ मिटर उचाइ रहेको गुफाबाट प्राप्त अवशेषको कार्बोन डेटिङ परीक्षणबाट यस्तो इतिहास देखिएको उनले जानकारी दिए।
IMG 1261
सदरमुकाम चामेबाट एक दिन पैदल यात्रामा पुगिने उक्त गुफा चट्टानको खोंचमा रहेको उनले जानकारी दिए। मुस्ताङको सामजोङ गुफाबाट हिँडेर साढे एक दिनमा क्याङ गुफा पुगिन्छ। गुफा केही प्राकृतिक र केही मानवनिर्मित देखिएको उनले बताए। 'तर मुस्ताङमा जस्तो गुफा बनाउन सजिलो नभएकाले चट्टानको खोंचमा मान्छेले पर्खाल बनाएर प्रयोग गरेको हुनुपर्छ,' उनले भने, 'प्रयास गरे जान सकिने भएकाले कतिपय अवशेष चोरी हुनसक्छ, त्यहाँ पुग्न निकै संघर्ष गर्नुपर्छ।'
टोलीमा संलग्नका अनुसार मुस्ताङका कतिपय गुफा मानिस बस्नका लागि बनाएको पाइए पनि मनाङको भने मरेका मान्छे पुर्नका लागि बनेको जस्तो देखिन्छ। 'अगुल्टाका टुक्रा, माटाका भाँडाका टुक्रा, काठका टुक्रालगायत मानव क्रियाकलपसँग सम्बन्धित अवशेष भेटिँदा त्यहाँ मान्छे बसेको पनि देखिन्छ,' उत्खननमा संलग्न विभागका अर्का अधिकृत मोहनसिंह लामाले भने, 'यस्ता प्रमाण पनि छन्, जसले त्यहाँ मान्छे पनि बसेको थियो भन्न सकिन्छ तर लास राख्नमात्रै हो या होइन, प्रष्ट भएको छैन।'
'मुस्ताङमा मानिसहरु त्यतिखेर गुफा बस्ने र लास पनि गुफा बनाएरै पुर्ने गरेको पत्ता लागिसकेको छ,' उनले भने, 'चट्टानको खोंचमा बनेको भित्री बनावट र बाहिर निर्माण गरिएको पर्खालले मान्छे बस्नका लागि सुरक्षित बनाएको पनि बुझिन्छ। यसबारेमा थप अध्ययन हुन बाँकी नै छ।'
मुस्ताङको जस्तै भौगोलिक अवस्था र प्रकृति रहेको मनाङमा टोलीले अध्ययन थालेको विभागका प्रवक्ता तथा प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले जानकारी दिए। 'मुस्ताङमा अहिलेसम्म ३१ सय ५० वर्ष पुरानो अवशेष भेटिएको छ,' उनले भने, 'मुस्ताङका अन्य ठाउँमा पनि यो भन्दा पुरानो इतिहासको खोजी भइरहँदा नभेटिएपछि मनाङमा सम्भाव्यताका लागि टोली लागिरहेको छ।'a reasher inside of the cave pics by Ted Hesser
सन् १९९६ मा मुस्ताङको चोाखोपानीमा अहिलेसम्मकै पुरानो गुफा संस्कृति भेटिएको थियो। कुँवरका अनुसार मुस्ताङमा जस्तो बृहत गुफा संस्कृति अहिलेसम्म भेटिएको छैन। त्यसैले मुस्ताङसँग जोडिएको इतिहास मनाङमा भए–नभएको बारे अध्ययन भइरहेको उनले जानकारी दिए।
'यी दुई हिमाली जिल्लाबाट तिब्बसम्मको सम्बन्ध अत्यधिक निकट छ, चाहे संस्कृति वा भौगोलिक,' उनले भने, 'गुफा संस्कृति कताबाट सुरु भएको हो, यकिन गर्न यस्तो अध्ययन भएको हो।'
सोही टोलीले मनाङको क्याङ गुफामा जेठ २१ देखि असार ५ गतेसम्म उत्खनन गरेको अधिकृत ज्ञवालीले जानकारी दिए। उत्खननबाट २३ जना मान्छेका हड्डी भेटिएको उनले बताए। 'अघिल्लो वर्षको अन्वेषणबाट आएको नतिजाबाट अहिले उत्खनन गरिएको छ,' उनले भने, 'केही सामग्री परीक्षणका लागि अमेरिका पठाइएको छ।'
यसबाहेक बाँसको कटौराजस्तो आधा फुटेको आकृति, जनावरका अवशेषलगायत अवशेष फेला परेको उनले जानकारी दिए। मनाङका अन्य क्षेत्रमा पनि यस्ता गुफा भेटिएको तर तिनको विस्तृत अध्ययन हुन नसकेको उनको भनाइ छ। 'मुस्ताङमा हजारौं मानवनिर्मित गुफा भेटिइसकेका छन् तर मनाङमा भने त्यस्तो देखिएको छैन,' उनले थपे। यो उत्खनन अमेरिकी संस्था स्काइडोर फाउन्डेसन र विभागले मिलेर गरेका थिए।

No comments:

Post a Comment

कुनै प्रतिकृया छ कि ?